नेपालले साफ च्याम्पियनसिप खेल्न नपाउने खतरा
आगामी सेप्टेम्बर ३० सम्म फिफाको निलम्बन फुकुवा भएमात्र नेपालले प्रतियोगितामा भाग लिन पाउने
काठमाडौं : फिफाको निलम्बन फुकुवा नभए नेपालले आगामी बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै नेपालका लागि सहभागिताको ढोका फिफाको निर्णयसँग जोडिएको स्पष्ट पारेको हो।
साफले शनिबार सार्वजनिक गरेको टाइसिट ड्र अनुसार हाल जारी फिफा निलम्बनका कारण नेपाललाई कुनै पनि समूहमा समावेश गरिएको छैन। साफका अनुसार आगामी सेप्टेम्बर ३० सम्म फिफाले एन्फामाथिको निलम्बन हटाएमा मात्र नेपालले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।
निलम्बन फुकुवा भएमा नेपालले उपलब्ध दुई समूह ‘ए’ वा ‘बी’ मध्ये कुनै एक समूहमा अन्तिम टोलीका रूपमा स्थान पाउनेछ। तर तोकिएको समयभित्र समस्या समाधान नभए नेपालले दक्षिण एसियाली क्षेत्रकै प्रतिष्ठित फुटबल प्रतियोगिता गुमाउनेछ।
शनिबार भएको टाइसिट ड्र अनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेशसँगै श्रीलङ्का र भुटान रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान परेका छन्।
यसपटकको साफ च्याम्पियनसिप बङ्गलादेशले आयोजना गर्दैछ। प्रतियोगिता आगामी नोभेम्बर ४ देखि १७ तारिखसम्म सञ्चालन हुनेछ।
नेपाली फुटबल यतिबेला मैदानको प्रदर्शनभन्दा बाहिरको विवादको मारमा परेको छ। एन्फामाथिको फिफा प्रतिबन्ध लामो समय कायम रहे राष्ट्रिय टोलीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अवसर गुमाउने जोखिम बढेको छ।
.gif)

.png)

