इरानद्वारा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा ‘अचानक आक्रमण’
काठमाडौं : इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल आक्रमण गरेको अमेरिकाले जनाएको छ। अमेरिकी सेनाका अनुसार यो आक्रमण अस्थायी युद्धविराम लागू रहेकै समयमा भएको हो, जसले दुई देशबीचको तनाव फेरि चर्किने संकेत दिएको छ।
बीबीसीका अनुसार अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले मंगलबार स्थानीय समयअनुसार साँझ ५ः४५ बजे इरानले अमेरिकी सैन्य बलहरूलाई लक्षित गरी मिसाइल प्रहार गरेको जनाएको हो। सेन्टकमका अनुसार विशेषगरी जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाइएको थियो।
अमेरिकी सेनाले प्रहार गरिएका सबै ब्यालिस्टिक मिसाइलहरूलाई लक्ष्यमा पुग्नुअघि नै सफलतापूर्वक अवरुद्ध (इन्टरसेप्ट) गरिएको दाबी गरेको छ। आक्रमणबाट कुनै क्षति वा मानवीय हताहती भएको जानकारी भने सार्वजनिक गरिएको छैन। घटनापछि मध्यपूर्वमा तैनाथ अमेरिकी सेना उच्च सतर्कताको अवस्थामा राखिएको सेन्टकमले जनाएको छ।
अलजजिराका अनुसार अमेरिकाले यो आक्रमणले इरानसँग कायम रहेको अस्थायी युद्धविरामको उल्लंघन भएको दाबी गरेको छ। अमेरिकी पक्षले पछिल्ला केही सातादेखि दुवै देशबीच अप्रत्यक्ष रूपमा वार्ता जारी रहेकाले तनाव कम हुने अपेक्षा गरिए पनि मिसाइल आक्रमणले परिस्थितिलाई फेरि जटिल बनाएको जनाएको छ।
यद्यपि, इरानले भने अमेरिकी दाबीबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। त्यसैले आक्रमणको उद्देश्य वा त्यसबारे इरानको धारणा सार्वजनिक हुन बाँकी छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका थिए। उनले दुवै पक्षबीच लगातार तेस्रो दिनसम्म कुनै सैन्य आक्रमण नभएको उल्लेख गर्दै वार्ताबाट राम्रो परिणाम आउने सम्भावना रहेको बताएका थिए।
तर, ट्रम्पले युद्धविराम असफल भए अमेरिकाले पुनः सैन्य अभियानमा फर्किन सक्ने चेतावनी पनि दिएका थिए। उनको उक्त अभिव्यक्तिको एक दिनपछि नै मिसाइल आक्रमण भएको दाबी सार्वजनिक भएकाले यस घटनालाई निकै संवेदनशील रूपमा हेरिएको छ।
यसबीच, होर्मुज जलमार्गको पहुँच र नियन्त्रण दुवै देशबीचको वार्ताको प्रमुख विवादित विषय बनेको छ। विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने यो जलमार्गको सुरक्षा र नियन्त्रणलाई लिएर लामो समयदेखि अमेरिका र इरानबीच मतभेद रहँदै आएको छ।
उता, यी घटनाहरू इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको वासिङ्टन भ्रमणकै क्रममा भएका हुन्। भ्रमणका दौरान नेतन्याहूले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए। त्यसैले पछिल्लो मिसाइल आक्रमणले मध्यपूर्वको सुरक्षा अवस्था र अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ।
.gif)

.png)

