आज अतिभारी वर्षाको जोखिमः राति सवारी नचलाउन र घरदेखि टाढा यात्रा नगर्न आग्रह
आज २३ जिल्लामा अतिभारी वर्षा
काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न भागमा अत्यधिक वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ। साथै, देशका हिमाली तथा पहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढेको भन्दै प्राधिकरणले अत्यावश्यक कामबाहेक राति यात्रा नगर्न र जोखिमयुक्त जिल्लाहरूमा रात्रिकालीन सवारी आवागमन रोक्न अनुरोध गरेको छ। विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, राजमार्ग तथा सडकमा आवश्यक उपकरण तयारी राख्न र जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरोकारवाला निकायलाई निर्देशित गरेका छन् ।
नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिमयुक्त स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गर्दै प्राधिकरणले आपत्कालीन सहयोगका लागि हटलाइन सेवाको उपयोग गर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ।
.gif)

.png)

