गोपालमान श्रेष्ठ अब कांग्रेस वरिष्ठ नेता
क्यान्सरसँग लडिरहेका गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने गगन थापाको घोषणा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। ४४औँ बीपी स्मृति दिवस, जरा अभियान समापन तथा नयाँ अभियान घोषणाका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले साउन १२ र १३ गते बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय अनुमोदन गरिने बताए।
सभापति थापाले क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै यसअघि नै उनलाई अस्पतालमा भेटेर वरिष्ठ नेता बनाउने निर्णयबारे जानकारी गराएको बताए। ‘गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ। केही समयअघि पार्टीभित्र यसबारे छलफल गरेका थियौँ। मैले अस्पतालमै गएर पनि केन्द्रीय समिति बैठकले यो निर्णय अनुमोदन गर्ने जानकारी गराएको थिएँ। साउन १२ र १३ गते बस्ने बैठकले यो निर्णय अनुमोदन गर्छ भन्ने विश्वास लिएको छु,’ उनले भने।
पार्टी संगठन निर्माण, लामो राजनीतिक योगदान तथा कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको योगदानको सम्मानस्वरूप श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको थापाले बताए। उनले कार्यक्रममा श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।
क्यान्सरबाट पीडित श्रेष्ठ विगत १० दिनदेखि आइसियुमा उपचाररत छन्। उनी गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा पनि सहभागी भएका थिए। नेपाली कांग्रेसको विधानमा ‘वरिष्ठ नेता’ पदको व्यवस्था छैन। यद्यपि, नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भएपछि तत्कालीन सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता बनाइएको थियो। त्यसयता महाधिवेशनमा सभापति पदमा पराजित भएका नेतालाई वरिष्ठ नेता बनाउने अभ्यास रहँदै आएको छ।
.gif)

.png)

