हर्मुज खोल्न इरानका ६ सर्त
नाकाबन्दी हटाऊ, क्षतिपूर्ति देऊ : इरान
तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले रणनीतिक महत्त्वको हर्मुज जलसन्धि पुनः खोल्नका लागि कडा सर्त अघि सारेको छ । इरानले हर्मुज सुचारु गर्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकासमक्ष हर्मुज जलसन्धि पुनः खोल्नका लागि ६ बुँदे सर्त सार्वजनिक गरेका छन् । उनका अनुसार इरान र उसका ‘पवित्र मूल्यहरू’ विरुद्धका धम्की अन्त्य गर्नुपर्ने, इरान र उसका क्षेत्रीय सहयोगीविरुद्धको सैन्य कारबाही स्थायी रूपमा रोक्नुपर्ने तथा इरानविरुद्धको नाकाबन्दीमा संलग्न अमेरिकी नौसैनिक र हवाई सेना फिर्ता गर्नुपर्नेछ ।
त्यसैगरी, हालैको द्वन्द्वबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, इरानमाथिका अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने र इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने इरानको माग छ । यी सर्त पूरा भएमा मात्र हर्मुज जलसन्धि पुनः खोल्ने संकेत इरानले दिएको छ ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकाले इरानको आणविक कार्यक्रम र परम्परागत सैन्य क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका छन् । उनले इरानले दीर्घकालीन परिवर्तन गर्न नचाहे अमेरिकाले दबाब कायमै राख्ने बताएका छन् ।
अमेरिकाको लक्ष्य मध्यपूर्वबाट तेल र ग्यासको प्रवाह सुनिश्चित गर्नु तथा अमेरिकी नागरिकका लागि ऊर्जाको मूल्य कम राख्नु रहेको पनि भान्सले बताएका छन् ।
युद्धको तनाव बढिरहेका बेला साउदी अरब, टर्की र पाकिस्तानले मक्कामा ‘संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका छन् । टर्कीका विदेशमन्त्री हकान फिदानका अनुसार उक्त सम्झौता रक्षात्मक प्रकृतिको हो । भविष्यमा इजिप्ट पनि सम्झौतामा सहभागी हुन सक्ने उनले बताएका छन् । उनका अनुसार सम्झौता कुनै निश्चित देशविरुद्ध लक्षित छैन ।
हर्मुज जलसन्धि बन्द रहे पनि ‘ट्याङ्कर ट्र्याकर्स’का अनुसार कम्तीमा ५६ वटा ट्याङ्करले आफ्नो अवस्थिति तथा गतिविधि लुकाउँदै तेल ढुवानी गरिरहेका छन् । ती ट्याङ्करले अरब देशहरूको तेल निर्यातलाई निरन्तरता दिन खाडी क्षेत्रमा गोप्य रूपमा तेल स्थानान्तरण गरिरहेको बताइएको छ ।
युद्ध लम्बिँदै जाँदा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आफ्नो रणनीतिमा परिवर्तन गर्दै कम लागतका स्वायत्त हतियारमा जोड दिन थालेको छ । पेन्टागनका अधिकारीहरूले सञ्चारमाध्यममा आएका हतियार अभावसम्बन्धी रिपोर्टलाई अस्वीकार गर्दै अमेरिकाको सुरक्षा भण्डार पर्याप्त रहेको दाबी गरेका छन् ।
हर्मुज जलसन्धि विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले यसको अवरोधले विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा प्रत्यक्ष असर पार्न सक्ने चिन्ता बढेको छ ।
.gif)

.png)

