बादललाई ओलीको फोन : अल्पमतमा परे बैठक ‘क्यान्सिल’ गरेर काठमाडौं फर्किहाल्नू
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यदल संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई अल्पमतमा परे पुनर्गठन कार्यदलको बैठक नै ‘क्यान्सिल’ गरेर काठमाडौं फर्किन निर्देशन दिएको स्रोतले जनाएको छ।
काभ्रेको बल्थलीस्थित एक होटलमा दुई दिनदेखि जारी बैठकमा ओलीले बादललाई टेलिफोनमार्फत भनेका थिए, ‘विशेष महाधिवेशन र प्रतिनिधि परिषद्मा सहमति नगर्नू। गर्नुपर्ने अवस्था आए बैठक क्यान्सिल गरेर काठमाडौं फर्किहाल्नू।’
महासचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनमा कार्यदलका बहुसंख्यक सदस्यको समर्थन देखिएपछि ओली पक्ष दबाबमा परेको बताइएको छ। त्यसको विपरीत कार्यदल संयोजक बादलले पेस गरेको प्रतिवेदन अल्पमतमा परेपछि बैठकमा विवाद चर्किएको हो।
सहमति जुट्न नसकेपछि पुनर्गठन कार्यदलको बैठक असोज १ गतेसम्मका लागि स्थगित गरिएको छ। बल्थलीस्थित होटलमा बसेको बैठकले दुईवटै प्रतिवेदनमा उठाइएका विषय तथा सदस्यहरूले बैठकमा दिएका सुझाव समेटेर अन्तिम मस्यौदा तयार गर्न तीन सदस्यीय सम्पादन समिति गठन गरेको सचिव राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार समितिको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सदस्यमा उपाध्यक्ष विष्णु पौडेल र सदस्यसचिवमा महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिइएको छ।
सचिव महेश बस्नेतले पनि कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले दिएका सुझाव समेटेर अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी दिइएको बताएका छन्। सम्पादन समितिले अन्तिम मस्यौदा तयार गरेपछि असोज १ गते पुनर्गठन कार्यदलको बैठक बस्ने बताइएको छ।
.gif)

.png)

