भोटेकोशी बाढीपीडितका लागि हिमालय एयरलाइन्स कर्मचारीको १३ लाख सहयोग
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन हिमालय एयरलाइन्सका कर्मचारीले १३ लाख २० हजार ६६६ रुपैयाँ सहयोग गरेका छन्। हिमालय एयरलाइन्सका विभिन्न विभागमा कार्यरत कर्मचारीले स्वेच्छिक रूपमा रकम संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
कर्मचारीहरूले कुल १४ लाख ७० हजार ६६६ रुपैयाँ संकलन गरेका थिए। त्यसमध्ये बाढीबाट प्रत्यक्ष प्रभावित हिमालय एयरलाइन्सका कर्मचारीका परिवारलाई १० प्रतिशत अर्थात् १ लाख ५० हजार रुपैयाँ प्रत्यक्ष सहयोग गरिएको र बाँकी १३ लाख २० हजार ६६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको एयरलाइन्सले जनाएको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले कर्मचारीहरूले संकलन गरेको रकमको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गरेका छन्।
आर्थिक सहयोगसँगै एयरलाइन्सका कर्मचारीले लुगाफाटा तथा आवश्यक सामग्रीसमेत संकलन गरी काठमाडौँ स्कुल अफ ललाई हस्तान्तरण गरेका छन्। ती सामग्री बाढी तथा अन्य विपद्बाट प्रभावित समुदायका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउने अभियानमा प्रयोग गरिने जनाइएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली करिडोर आसपासका विभिन्न बस्तीमा ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण कैयौँ नागरिक विस्थापित भएका छन् भने घर, सडक, पुललगायतका महत्वपूर्ण भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।
विपद्को यस कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एयरलाइन्सका कर्मचारीले व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग जुटाएका हुन्। एयरलाइन्सले कर्मचारीहरूको स्वस्फूर्त पहलले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको जनाएको छ।
हिमालय एयरलाइन्सले विपद्को समयमा प्रभावित समुदाय तथा राष्ट्रसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहायता र सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। एयरलाइन्सले बाढी तथा यस विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
हिमालय एयरलाइन्स नेपाल–चीनबीचको संयुक्त साझेदारीमा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। कम्पनी सन् २०१४ मा स्थापना भएको हो। नेपाल र अन्य मुलुकबीच जनस्तरको सम्बन्ध विस्तारसँगै नेपालको व्यापार तथा पर्यटन क्षेत्रलाई सहयोग पुर्याउनु कम्पनीका प्रमुख उद्देश्य हुन्।
हिमालय एयरलाइन्समा हाल चारवटा विमान छन्। तीमध्ये तीनवटा एयरबस ३२०–२१४ र एउटा एयरबस ३१९–११५ विमान रहेका छन्। कम्पनीले मध्यपूर्व तथा दक्षिण एसियाका प्रमुख गन्तव्यहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ।
कम्पनीका अनुसार हिमालय एयरलाइन्सले सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय वायुसेवाका रूपमा दक्षिण एसिया यात्रा पुरस्कार प्राप्त गरेको थियो।
.gif)

.png)

