नेपालको सत्ता परिवर्तन नयाँ विश्व व्यवस्थाको हिस्सा भएको एमाले नेता बादलको दाबी


२०८३ असोज १६ शुक्रबार १५:४३ बजे

काठमाडौं : नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले गत वर्ष भदौ २३–२४ गते भएको देश दहन तथा नागरिक सरकार र संसद्को विघटनलाई ‘नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करण’ भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै नेता थापाले विश्व अहिले सङ्क्रमणकालीन उथलपुथलको अवस्थाबाट गुज्रिरहेको बताए। पुरानो विश्व व्यवस्थाको केन्द्र पश्चिमबाट पूर्वतर्फ सर्दै गएको भन्दै उनले विश्वव्यापी ‘रुल सेटिङ’ नयाँ नेतृत्वतर्फ हस्तान्तरण हुने प्रक्रियामा रहेको बताए।

‘पुरानो संरचना तथा आधार भत्किँदै गएको छ। नयाँ पूर्णतः निर्माण भइसकेको छैन,’ उनले भने।

नेता थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक तथा सांस्कृतिक घटनाक्रमको अध्ययन गर्दा नयाँ विश्व व्यवस्था निर्माणका दुई मार्गचित्र देखिएको बताए।

सैन्य हस्तक्षेप, आक्रमण, कठपुतली सरकार गठन, नागरिक अधिकारको हनन, राज्य आतंक, लोकतान्त्रिक शक्तिमाथि दमन तथा न्यायपालिका र व्यवस्थापिकामाथिको हस्तक्षेपमार्फत आफूअनुकूल विश्व व्यवस्था निर्माण गर्ने प्रयास भइरहेको उनले दाबी गरे।

नेपालमा भएको घटनालाई त्यही विश्वव्यापी प्रक्रियासँग जोड्दै उनले भने, ‘गत वर्ष भदौ २३–२४ गतेको देश दहन र नागरिक सरकार तथा संसद्को विघटन नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करण हो।’

थापाले आफूहरूले त्यसबेला भएको सत्ता परिवर्तनको तत्काल प्रतिवाद गरेको र देश दहनमा संलग्न दोषीमाथि कारबाहीको माग गरेको बताए। विघटित प्रतिनिधि सभाको पुनःस्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक अडान यथावत् रहेको बताए।

गत फागुनमा भएको निर्वाचनलाई भदौ २३–२४ गतेको घटनाको ‘बाइप्रडक्ट’को संज्ञा दिँदै नेता थापाले एमालेले निर्वाचनमा भएको पराजय स्वीकार गरेको बताए। तर उनले पराजयलाई आत्मसमर्पणका रूपमा नलिन समेत स्पष्ट पारे।

नेता थापाले भने, ‘हामीले यसलाई गम्भीर शिक्षा तथा भावी विजयका लागि सुनौलो अवसरका रूपमा आत्मसात् गरेका छौँ।’

थापाले सरकार गठन भएको छ महिनामा प्रतिनिधिसभा सत्तापक्ष सरकारको ‘प्रतिछाया’ जस्तो मात्र बनेको आरोप समेत लगाए। सत्तापक्षले प्रतिपक्षलाई पूरक नभई बाधकका रूपमा हेरेको उनको दाबी थियो।

यद्यपि पछिल्लो समय सत्तापक्षमा केही ‘आशाको किरण’ देखिन थालेको उनले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७