जी–७ ले रणनीतिक भण्डारबाट १० करोड ब्यारेल तेल निकाल्ने


२०८३ असोज १७ शनिबार १०:३२ बजे

काठमाडौँ :  विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता र इन्धनको चर्किँदो मूल्य नियन्त्रण गर्न जी–७ राष्ट्रहरूले रणनीतिक भण्डारबाट चार महिनाभित्र १० करोड ब्यारेल कच्चा तेल, डिजेल तथा अन्य पेट्रोलियम पदार्थ बजारमा ल्याउने निर्णय गरेका छन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको अध्यक्षतामा शुक्रबार भएको जी–७ नेताहरूको भर्चुअल बैठकपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो। जी–७ ले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) मार्फत समन्वित रूपमा भण्डारबाट इन्धन बजारमा पठाउने जनाएको छ।

निर्णयअनुसार आपूर्ति तत्काल सुरु हुनेछ र चार महिनासम्म जारी रहनेछ। पहिलो २० दिनमै ठूलो परिमाणमा डिजेल बजारमा ल्याइनेछ। बजारमा आपूर्ति बढाएर इन्धनको मूल्यमा परेको दबाब कम गर्ने तथा विश्व ऊर्जा बजारलाई स्थिर बनाउन सहयोग गर्ने जी–७ को उद्देश्य छ।

जी–७ राष्ट्रहरूले ऊर्जा तथा पेट्रोलियम पदार्थको आपूर्तिमा एकअर्काविरुद्ध निर्यात प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै, रिफाइनरीहरूको मर्मतसम्भारलाई समन्वय गर्ने र सम्भव भएसम्म प्रशोधन क्षमता बढाउने सहमति भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूलाई रणनीतिक डिजेल भण्डार बजारमा ल्याउन दबाब दिँदै आएका थिए। अमेरिकामा डिजेलको मूल्य बढेपछि घरेलु बजारमा आपूर्ति सहज बनाउन युरोपले आफ्नो भण्डारबाट इन्धन निकाल्नुपर्ने अमेरिकी पक्षको जोड थियो।

विश्व ऊर्जा बजारमा पछिल्लो संकटको प्रमुख कारण मध्यपूर्वमा जारी युद्ध र त्यसले तेल आपूर्तिमा पारेको असर हो। आईईएका अनुसार फेब्रुअरी २८, २०२६ देखि सुरु भएको मध्यपूर्व द्वन्द्वका कारण विश्वको महत्वपूर्ण ऊर्जा मार्ग होर्मुज जलडमरूमध्य हुँदै हुने कच्चा तेल तथा प्रशोधित पेट्रोलियम पदार्थको प्रवाह युद्धअघिको स्तरको १० प्रतिशतभन्दा कममा झरेको थियो।

यसअघि मार्चमा आईईएका ३२ सदस्य राष्ट्रले आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेका थिए। आईईएका अनुसार यो संस्थाको इतिहासकै सबैभन्दा ठूलो समन्वित रणनीतिक तेल भण्डार निकासी थियो।

यता, ऊर्जा मूल्यवृद्धिको असर युरोपेली अर्थतन्त्रमा समेत देखिएको छ। युरो क्षेत्रको मुद्रास्फीति सेप्टेम्बरमा ३.८ प्रतिशत पुगेको छ, जुन तीन वर्षयताकै उच्च हो। सो अवधिमा ऊर्जा मूल्य वार्षिक रूपमा १८.८ प्रतिशत बढेको युरोपेली संघको तथ्यांक कार्यालय युरोस्टाटले जनाएको छ।

जी–७ नेताहरूले ऊर्जा सुरक्षा, बजार स्थिरता र घरपरिवार तथा व्यवसायमाथि परेको मूल्यवृद्धिको दबाब कम गर्न तत्काल कदम चाल्ने बताएका छन्। रणनीतिक भण्डारबाट थप तेल तथा डिजेल निकाल्ने वा ननिकाल्ने विषयमा भने आगामी दिनमा बजारको अवस्थाअनुसार थप निर्णय लिन सकिने जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७