नदीमा हामफालेका दुई जनाको उद्धार गर्ने दुई प्रहरी पुरस्कृत


२०८३ असोज ३० शुक्रबार १५:२२ बजे

काठमाडौं : नदीमा हामफालेका दुई जनाको सकुशल उद्धार गर्ने दुई प्रहरी कर्मचारीलाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरिएको छ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार स्वरूप दुवै जनाले जनही ५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन्।

प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत चौधरीले गत भदौ २३ गते कर्णाली नदीमा हाम फालेकी १६ वर्षीया बालिकाको सकुशल उद्धार गरेका थिए। राजापुरकी ती बालिकाले मधुवन नगरपालिका–३ स्थित कोठियाघाट पुलबाट नदीमा हाम फालेकी थिइन्।

त्यस्तै, दार्चुलामा कार्यरत महराले महाकाली नदीमा हाम फालेकी एक महिलाको ज्यान जोगाएका थिए। जोखिमपूर्ण अवस्थामा साहस देखाउँदै मानवीय उद्धार कार्य गरेको योगदानको कदर गर्दै उनलाई पनि पुरस्कृत गरिएको हो।

साहसिक तथा जोखिमपूर्ण अवस्थामा मानवीय उद्धार गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरिँदै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७