चीनसँग पुरानै शैलीमा लड्न कठिन छ : भारतीय सीमा प्रहरी प्रमुख
काठमाडौं : भारत–चीन सीमामा बढ्दो सुरक्षा चुनौतीका बीच भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) का महानिर्देशक शत्रुजित कपुरले चीनको सामना गर्न भारतले परम्परागत सैन्य रणनीतिभन्दा माथि उठेर आफ्नो क्षमता विकास गर्नुपर्ने बताएका छन्।
अरुणाचल प्रदेशमा पछिल्ला केही महिनादेखि भारतीय र चिनियाँ सैनिक आमनेसामने भइरहेको उल्लेख गर्दै उनले चीनसँगको सीमा भारतका लागि सबैभन्दा कठिन सीमामध्ये एक भएको बताएका हुन्।
आगामी अक्टोबर ३१ मा सेवाबाट अवकाश लिन लागेका कपुरले बिहीबार राजस्थानको अलवरमा आयोजित कार्यक्रममा सैनिकहरूलाई सम्बोधन गर्दै चीन शक्तिशाली छिमेकी र भारतको प्रमुख प्रतिद्वन्द्वी भएकाले त्यसको सामना गर्न सैन्य क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए।
उनले आधुनिक युद्धमा मानवरहित विमान अर्थात् ड्रोनलाई ठूलो चुनौती र अवसर दुवैका रूपमा व्याख्या गरे। उनका अनुसार अब परम्परागत सैन्य विधिबाट मात्रै चीनसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको छ।
चीनले आफ्नो जनमुक्ति सेनाको आधुनिकीकरणमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै कपुरले ड्रोन प्रविधिले साना राष्ट्रलाई समेत शक्तिशाली राष्ट्रविरुद्ध प्रभावकारी प्रतिरोध गर्न सक्ने क्षमता दिने बताए।
यसैबीच, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले यस विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग जवाफ मागेका छन्। उनले भारतको राष्ट्रिय सुरक्षा, चीनसँगको आर्थिक सम्बन्ध र दुई देशबीच भएका कूटनीतिक वार्ताको प्रभावकारिताबारे प्रश्न उठाएका छन्।
चीनसँगको सीमा क्षेत्रमा देखिएका पछिल्ला घटनाक्रमलाई खड्गेले गम्भीर चासोको विषयका रूपमा प्रस्तुत गरेका छन्। यसले भारतको सीमा सुरक्षा रणनीति, सैन्य आधुनिकीकरण र चीनसँगको सम्बन्धबारे बहसलाई थप तीव्र बनाएको छ।
.gif)

.png)



