रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत सकियो, रक्तदान गर्न रेडक्रसको अपिल
काठमाडौँ : अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।
बडादसैँको बिदापछि केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम घटेको र अस्पतालहरूमा रगतको माग बढ्दै गएपछि व्यवस्थापनमा कठिनाइ भएको रेडक्रसले जनाएको छ।
केन्द्रमा सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्ससम्बन्धी रक्तघटकको मौज्दात सकिएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले बताएका छन्।
‘रक्तसञ्चार केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पीआरबीसी र पीआरपी) को मौज्दात सकिएको छ । यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापन गर्न कठिनाइ भएको छ,’ उनले भने।
डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न आग्रह गरेका छन्।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा बिदा हुँदा रक्तदान कार्यक्रम कम भएकाले रगतको सहज व्यवस्थापनमा समस्या आएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए।
उनले स्वयंसेवी रक्तदाता तथा विभिन्न सङ्घसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिए।
रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१-५३८८४८५ र ०१-५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ। त्यस्तै, नेपाल रेडक्रसको निःशुल्क हटलाइन ११३० मा पनि सम्पर्क गर्न सकिनेछ।
रक्तसञ्चार सेवासम्बन्धी जानकारी प्राप्त गर्न मोबाइलको प्लेस्टोरमा उपलब्ध NRCS BTS एप प्रयोग गर्नसमेत रेडक्रसले अनुरोध गरेको छ।
.gif)

.png)



