कात्तिक १२–१४ मा हवाई उडान प्रभावित हुन सक्ने चेतावनी
काठमाडौं : चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी तीन दिन हवाई उडान तथा विमानस्थल सञ्चालन प्रभावित हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले बिहीबार जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षा, तीव्र हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।
उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने भएकाले हवाई उडान तथा अवतरणमा समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ।
मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवाती आँधीको प्रभाव नेपालमा समेत पर्न सक्ने अनुमान गरिएको छ।
यसको प्रभाव कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिन सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा समेत असर पर्न सक्ने जनाइएको छ।
प्रतिकूल मौसमका कारण विमानस्थल सञ्चालन, उडान तथा अवतरण र धावनमार्गको अवस्था प्रभावित हुन सक्ने भएकाले प्राधिकरणले सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न र उडान सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
मौसमको अवस्थाअनुसार उडान मार्ग परिवर्तन, विमानलाई आकाशमै केही समय राख्ने तथा अन्य आवश्यक व्यवस्थापन गर्नुपर्ने हुन सक्ने प्राधिकरणले जनाएको छ।
मौसमका कारण उडान समयतालिकामा परिवर्तन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन पनि प्राधिकरणले अनुरोध गरेको छ।
हेर्नूहोस् विज्ञप्तिः

.gif)

.png)



