कारागारभित्रै सुरुङ खनेर ८ कैदी फरार, चौबीसै घण्टा हुने सुरक्षा निगरानीमाथि प्रश्न
काठमाडौं : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएका छन् ।
चौबीसै घण्टा प्रहरीको सुरक्षा निगरानीमा रहने कारागारबाट कैदीबन्दीले जमिनमुनि सुरुङ खनेर भागेपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
कारागारभित्रै सुरुङ खन्ने काम भइरहँदा सुरक्षामा खटिएका प्रहरीले किन थाहा पाएनन् ? कैदीबन्दीले कति समय लगाएर सुरुङ खने ? उनीहरू कसरी कारागारको पर्खाल पार गर्न सफल भए ? अहिले यी प्रश्नको जवाफ खोज्न प्रहरीले छानबिन अघि बढाएको छ ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार घटना १३ कात्तिकको राति भएको हो । आफूलाई १४ कात्तिकको बिहान मात्रै घटनाबारे जानकारी प्राप्त भएको उनले बताएका छन् ।
कारागारमा जम्मा १७ जना कैदीबन्दी रहेकामा आठ जना सुरुङ खनेर फरार भएका हुन् । ‘पर्खाल नै भत्काएर सुरुङ खनेर भागेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौँ,’ डीएसपी गिरीले भने ।
फरार हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा र बोरेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक छन् ।
त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, आठबिसकोट–१० का ३२ वर्षीय रामबहादुर कामी, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र आठबिसकोट–३ का ३२ वर्षीय निशान भनिने अदेश भण्डारी पनि फरार भएका छन् ।
प्रहरीका अनुसार राति १० बजेसम्म उनीहरू सामान्य अवस्थामै रहेको देखिएको थियो । त्यसपछि सुरुङ खन्न सुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुङ खन्न रड प्रयोग गरिएको प्रहरीको भनाइ छ ।
फरार आठै जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको डीएसपी गिरीले बताएका छन् । छानबिन समितिको प्रतिवेदनपछि कैदीबन्दी कसरी सुरुङ खनेर भाग्न सफल भए र सुरक्षा व्यवस्थामा कहाँ कमजोरी भयो भन्ने विषय खुल्ने प्रहरीको भनाइ छ ।
.gif)

.png)




