चोलेन्द्र प्रकरणको साइड इफेक्ट : व्यवसायी दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सम्पर्कमा रहेको भनिएका व्यक्तिसँग सम्बन्ध देखिएपछि नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ।
कारागार व्यवस्थापन विभागको निर्णयअनुसार भट्टलाई शनिबार नख्खुबाट सिन्धुपाल्चोक पठाइएको हो। नख्खु कारागार कार्यालयले सिन्धुपाल्चोक कारागारलाई पठाएको पत्रअनुसार विभागको च.नं. ६२८ को निर्णयबमोजिम भट्टलाई सक्कल फाइल तथा आवश्यक कागजातसहित सुरक्षा घेरामा स्थानान्तरण गरिएको हो।
भट्टलाई यसअघि डिल्लीबजार कारागारबाट नख्खु सारिएको थियो। असारमा उनलाई नख्खु र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई केन्द्रीय कारागार सुन्धारा स्थानान्तरण गरिएको थियो।
यसबैचीत भट्टको पछिल्लो सरुवा पूर्वप्रधानन्यायाधीश राणासँग जोडिएको सम्पर्कबारे भइरहेको प्रहरी अनुसन्धानसँग सम्बन्धित रहेको विभिन्न स्रोतले बताएको छ।
राणासँग निकट रहेको भनिएका इनाम सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर सोधपुछ गरेको नेपाल प्रहरीको विशेष ब्युरोले जनाएको छ। सापकोटाको मोबाइल जाँच तथा बयानका क्रममा राणा, भट्ट र व्यवसायी सुलभ अग्रवालबीच सम्पर्क रहेको तथ्य खुलेको प्रहरी स्रोतको दाबी छ।
यद्यपि, यी सम्पर्क र गतिविधिबारे प्रहरीले अनुसन्धान गरिरहेको र सार्वजनिक भएका विवरणहरू प्रारम्भिक अनुसन्धानमा आधारित दाबी हुन्। राणा, भट्ट वा अग्रवालले यस विषयमा के प्रतिक्रिया दिएका छन् भन्ने स्पष्ट विवरण भने सार्वजनिक भएको छैन।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि भट्ट थुनामा रहेका छन्। यसअघि विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
कारागार प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सुरक्षा व्यवस्थासहित उनलाई सिन्धुपाल्चोक कारागार बुझाउन पत्राचार गरेको जनाएको छ।
.gif)

.png)




