चोलेन्द्रमाथि टेरामक्सदेखि दीपक भट्टसम्मको मुद्दामा ‘अस्वाभाविक’ चलखेलको आरोप


२०८३ असोज ११ आइतबार १०:५३ बजे

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। प्रहरीले उनलाई सुरक्षाको कारण देखाउँदै राति साढे १२ बजे निवासबाट पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेटपछि जबरालाई कार्यालयमा ल्याएर राखिएको बताएका छन्।

प्रहरी पक्राउ गर्न निवास पुगेपछि जबराले भाइ प्रभुशमशेरलाई फोनमार्फत जानकारी गराएका थिए। तर, प्रहरीको सुरक्षा थ्रेटसम्बन्धी दाबीभन्दा फरक कारणले जबरा पक्राउ परेको स्रोतको दाबी छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सर्वोच्च अदालतमा मुद्दा प्रभावित पार्न आर्थिक लेनदेन गरेको प्रमाण भेटिएपछि उनलाई तत्काल पक्राउ गर्न निर्देशन दिइएको हो। 

उच्च स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रकरणको फैसला तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका सुलभ अग्रवाल र दीपक भट्टसँग सम्बन्धित मुद्दामा जबराले ‘अस्वाभाविक’ चलखेल गरेको भन्दै उजुरी परेको थियो।

स्रोतका अनुसार केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा जबराले आफूहरूलाई अनावश्यक रूपमा बदनाम गरिएको गुनासो गरेका थिए। ओलीसँगको करिब चार घण्टा लामो भेटमा आफूहरूमाथि समाजले ज्यादती गरेको भन्ने विषयमा समान बुझाइ बनेको स्रोतको दाबी छ।

जबराले १७ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाअभियोग प्रस्ताव लामो समयसम्म संसद्‌मै अलपत्र परेको थियो। संसद्को अधिवेशन समाप्त भएपछि तत्कालीन संसद् महासचिवले महाअभियोग निष्क्रिय भएको भन्दै पत्र लेखेका थिए।

संसद् सचिवालयका तत्कालीन महासचिवले लेखेको उक्त पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। त्यसमा सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ भदौमा जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै चारवटै रिट खारेज गर्ने फैसला सुनाएको थियो। प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा रहेको संवैधानिक इजलासले महाअभियोगसँग सम्बन्धित रिटहरू खारेज गरेको हो।

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७