आचरणविपरीत काम गर्ने २५ प्रहरी कर्मचारीले गुमाए जागिर


२०८३ कार्तिक १५ आइतबार १६:४४ बजे

काठमाडौं : काठमाडौं उपत्यकामा आचरणविपरीत काम गर्ने २५ जना ट्राफिक प्रहरी कर्मचारीले चालु आर्थिक वर्ष सुरु भएयता जागिर गुमाएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा यस्तो जानकारी दिएका हुन् । 

उनले आर्थिक अनुशासन र प्रहरी आचरणविरुद्धका गतिविधिमा संलग्न कर्मचारीलाई कुनै पनि हालतमा संरक्षण नगरिने स्पष्ट पारे ।

काफ्लेले प्रहरी कर्मचारीलाई राज्यले उपलब्ध गराएको तलब तथा सेवा–सुविधामा सन्तुष्ट रहन आग्रह गर्दै आर्थिक अनियमितता गर्ने वा बर्दीको दुरुपयोग गर्ने कर्मचारीलाई कारबाहीबाट उन्मुक्ति नदिइने बताए ।

‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद कुरा अरू केही हुँदैन,’ उनले भने, ‘राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। चित्त बुझ्दैन भने अन्य क्षेत्रमा जाने विकल्प खुला छ, तर नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन ।’

सडकमा खटिने ट्राफिक प्रहरीको नागरिकसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले उनीहरूको व्यवहार मर्यादित र जिम्मेवार हुनुपर्ने काफ्लेको भनाइ थियो । 

उनले परिस्थितिको मूल्याङ्कन नगरी एउटै नियम र दृष्टिकोणबाट सबै घटनालाई हेर्न नहुने भन्दै स्वविवेकीय अधिकारको उचित प्रयोग गर्न निर्देशन दिए ।

एसएसपी काफ्लेले घाइतेलाई अस्पताल लैजान हतारिएको सवारी र मादक पदार्थ सेवन गरी नियम उल्लङ्घन गर्ने सवारीलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने उदाहरण प्रस्तुत गरे । यस्तो अवस्थामा ट्राफिक प्रहरीले मानवीय संवेदनशीलता र परिस्थितिको गम्भीरता बुझेर निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

यद्यपि, जानाजान कानुन उल्लङ्घन गर्ने र होहल्ला गरी नियमविपरीत गतिविधि गर्ने व्यक्तिमाथि भने कानुनअनुसार कडा कारबाही गर्न उनले निर्देशन दिएका छन् ।

नागरिकलाई अनावश्यक दुःख नदिई सेवा प्रवाह गर्न र व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिन पनि उनले मातहतका कर्मचारीलाई सचेत गराएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७