फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटनाको अनुसन्धान सुरु
काठमाडौं : सोलुखुम्बुको फेरिचे क्षेत्रमा मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुर्घटनाको विस्तृत अध्ययन तथा अनुसन्धान सुरु भइसकेको जनाएको हो ।
मंगलबार बिहान करिब ८ः१२ बजे फेरिचेमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको तमिलनाडु राज्यको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरूलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
मन्त्रालयका अनुसार दुर्घटनाको वास्तविक परिस्थिति र प्राविधिक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।
अनुसन्धानबाट प्राप्त निष्कर्ष तथा सिफारिसका आधारमा आवश्यक सुधारात्मक कदम चालिने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली आकाशलाई सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र नियमनलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि मन्त्रालयले जनाएको छ ।
.gif)

.png)




