सरकारमा रहँदा के–के गर्यो एमालेले ? १८ पृष्ठमा सार्वजनिक गर्यो उपलब्धिको विवरण
काठमाडौं : नेकपा (एमाले)ले २०४७ सालयता आफूले सरकारको नेतृत्व गर्दा वा सरकारमा सहभागी हुँदा हासिल भएका उपलब्धिको फेहरिस्त सार्वजनिक गरेको छ ।
पार्टीको राष्ट्रिय भेलामा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको १८ पृष्ठ लामो दस्तावेजमा संवैधानिक विकास, आर्थिक–सामाजिक रूपान्तरण, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रगतिलाई एमालेका उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
दस्तावेजअनुसार २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म एमाले अल्पमतको सरकारमा करिब ९ महिना, बहुमतको सरकारमा करिब ३ वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्वमा ३ वर्ष ६ महिना र अरू दलको नेतृत्वमा बनेका सरकारमा करिब ५ वर्ष सहभागी भएको थियो ।
एमालेले भने आफू सरकारमा रहेको अवधिका कामको मात्र जिम्मेवारी लिने स्पष्ट पारेको छ ।
एमालेले २०५२ मा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०.३ प्रतिशतमा झरेको, मानव विकास सूचकाङ्क ०.४३७ बाट ०.६०२ पुगेको र प्रतिव्यक्ति आय २०० डलरबाट १ हजार ५३५ डलर पुगेको दाबी गरेको छ ।
त्यस्तै, कुल गार्हस्थ्य उत्पादन १ खर्ब २० अर्बबाट ६६ खर्ब, वार्षिक बजेट ३१ अर्ब ५५ करोडबाट २१ खर्ब २४ अर्ब र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
सामाजिक सुरक्षातर्फ मासिक १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल ४ हजार पुगेको र ३६ लाख नागरिक लाभान्वित भएको दस्तावेजमा उल्लेख छ ।
साक्षरता दर ३९.६ बाट ७६.२ प्रतिशत र औसत आयु ५५ बाट ७२ वर्ष पुगेको तथा स्वास्थ्य बिमामा ८० लाख नागरिक आबद्ध भएको पनि एमालेको दाबी छ ।
पूर्वाधारतर्फ सडक सञ्जाल ८ हजार ३२८ किलोमिटरबाट १ लाख १० हजार किलोमिटर पुगेको, विद्युत् जडित क्षमता २२७ मेगावाटबाट ४ हजार १२० मेगावाट र विद्युत् पहुँच १० बाट ९९ प्रतिशत पुगेको उल्लेख छ ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विभिन्न सुरुङमार्ग, रेल सेवा, पेट्रोलियम पाइपलाइन तथा सडक र झोलुङ्गे पुल निर्माणलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।
त्यस्तै, धान उत्पादन ३३ लाखबाट ५९ लाख मेट्रिक टन पुगेको, वन क्षेत्र ३९ बाट ४६ प्रतिशत विस्तार भएको र ८५ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट पहुँच पुगेको दस्तावेजमा उल्लेख छ ।
भूकम्पपछि करिब ८ लाख निजी आवास, ७ हजार ५२ विद्यालय र ६४० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पनि एमालेले जनाएको छ ।
परराष्ट्र सम्बन्धमा नाकाबन्दीको सम्मानजनक समाधान, चीनसँग समुद्री बन्दरगाह र भारतसँग जलमार्ग सम्झौतालाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
सीमा सुरक्षाका लागि २०८ स्थानमा बोर्डर आउट पोस्ट स्थापना तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा प्रकाशनलाई पनि दस्तावेजले महत्वपूर्ण उपलब्धि मानेको छ ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ र ‘परिपूर्ण लोकतन्त्र’ को अवधारणाअनुसार समाजवादउन्मुख विकासको नीति अवलम्बन गरेको दाबी गर्दै आफ्नो नेतृत्व र सहभागितामा भएका कामले भौतिक पूर्वाधार, आर्थिक वृद्धि तथा मानवीय विकासमा उल्लेखनीय योगदान पुर्याएको निष्कर्ष निकालेको छ ।
.gif)

.png)




