काठमाण्डुलाई ६१ रनले पराजीत गर्दै चितवन एनपीएल क्वालिफायर–२ मा
काठमाडौं : कामिल मिशाराको कीर्तिमानी शतक र रिजन ढकालको उत्कृष्ट बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–२ मा स्थान बनाएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले फाइनल प्रवेशको सम्भावना कायम राखेको हो ।
चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । काठमाण्डुको हारसँगै उसको एनपीएल यात्रा पनि समाप्त भएको छ ।
.jpeg)
काठमाण्डुका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए । उनले २८ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
भीम सार्की ३० रनमा अविजित रहे भने सहान अराच्चिगेले २४ र राशिद खानले १२ रन जोडे । कप्तान करण केसीले भने ८ बलमा एक रन मात्रै बनाउन सके ।
काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा चितवनका रिजन ढकालले चार विकेट लिए। उसामा मीरले तीन तथा कुशल मल्ल र सलाहुद्दिन खानले एक–एक विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो ।
उसका ओपनर कामिल मिशाराले एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोर बनाउँदै अविजित १२० रनको पारी खेले ।
मिशाराले ५३ बलमा शतक पूरा गरेका थिए । उनले ५९ बलको सामना गर्दै १० छक्का र पाँच चौका प्रहार गरे ।
.jpeg)
यसअघि एनपीएलमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान कर्णाली याक्सका मार्क वाटको नाममा थियो । उनले गत सिजन लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाएका थिए ।
मिशारालाई साथ दिएका रवि बोपाराले ४२ बलमा ५३ रन बनाए । यी दुईबीचको साझेदारीले सुरुवाती दुई विकेट गुमाएको चितवनलाई बलियो योगफलसम्म पुर्याएको थियो ।
काठमाण्डुका करण केसीले सुरुवाती दुई विकेट लिएका थिए । उनले देव खनाललाई १७ रनमा र डेविड मलानलाई शून्यमा आउट गरेका थिए ।
करण र राशिद खानले दुई–दुई विकेट लिए पनि मिशाराको आक्रामक ब्याटिङ रोक्न सकेनन् ।
यस जितसँगै चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर–२ खेल्नेछ । उक्त खेलको विजेता फाइनलमा पुग्नेछ ।
.gif)

.png)




