निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको हो : गगन थापा


२०८३ मङ्सिर ४ शुक्रबार १५:२५ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार स्थानीय तह र प्रदेशसभा निर्वाचनबारे राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन आयोगको भूमिका महत्त्वपूर्ण भए पनि निष्पक्ष निर्वाचनका लागि सरकारको जिम्मेवारी अझ ठूलो हुने बताएका हुन् ।

‘निर्वाचन आयोगले निर्वाचनका काम गर्ने सन्दर्भमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ तर, त्यो सीमित छ । निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ,’ थापाले भने ।

निर्वाचनका बेला सरकारले प्रतिपक्षी दललाई बेवास्ता गर्न नमिल्ने उनको भनाइ थियो । अन्य समयमा सरकारले आफूलाई प्रतिपक्षी दल नचिन्ने वा नमान्ने बताए पनि निर्वाचनको समयमा त्यस्तो व्यवहार गर्न नपाइने उनले बताए ।

निर्वाचनको वातावरण बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे आयोगलाई समयमै सरकारको ध्यानाकर्षण गराउन आफूले आग्रह गरेको पनि थापाले जानकारी दिए ।

उनले भदौ २३ र २४ को अप्रत्याशित घटनापछि उत्पन्न राजनीतिक रिक्तताका बीच निर्वाचन सम्पन्न गर्न तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र समन्वय महत्त्वपूर्ण रहेको स्मरण गरे ।

‘त्यो बेला निर्वाचन आयोगले मात्रै निर्वाचन गराएर निर्वाचन भएको होइन। निर्वाचन आयोगको ठूलो भूमिका थियो । तर तत्कालीन सुशीला कार्की सरकारले दलहरूसँग कतिपटक कुराकानी गर्‍यो र कसरी निर्वाचनको वातावरण बनायो भन्ने कुरा पनि महत्त्वपूर्ण छ,’ उनले भने ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले गर्नुपर्ने कामबारे आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो ।

‘निर्वाचन आयोगले मात्रै सबै जिम्मेवारी नउठाओस्। सबै जिम्मेवारी आयोगको मात्रै हुँदैन,’ थापाले भने ।

निर्वाचनको मिति र प्रक्रियाबारे संविधानमा व्यवस्था रहेको उल्लेख गर्दै उनले व्यावहारिक पक्षमा पनि राजनीतिक दलहरूसँग छलफल गरेर सरकारले आवश्यक निर्णय गर्नुपर्ने धारणा राखे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७