दशौँ राष्ट्रिय खेलकुद : आजदेखि सात खेलको प्रतिस्पर्धा

उद्घाटन मङ्सिर १६ मा हुने


२०८३ मङ्सिर ८ मंगलबार ०७:२३ बजे
फाइल फोटो

काठमाडौं : लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार आजदेखि विभिन्न खेल सञ्चालन हुन लागेका हुन् ।

आजदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सुरु हुनेछन् ।

दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुने तय भएको छ। सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो खेल हुनेछन् ।

त्यस्तै, टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुनेछन् ।

लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल आयोजना हुने भए पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै खेल राखिएको छैन ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा भएको छ। विभिन्न प्रदेशका खेलाडीहरू पनि वीरेन्द्रनगर पुगिसकेका छन् । वीरेन्द्रनगरस्थित रंगशाला सोमबार मुख्यमन्त्री मंगलबहादुर शाहीले उद्घाटन गर्दै हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्‍यालीसमेत निकालिएको थियो। र्‍यालीमा मुख्यमन्त्री शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्द, खेलाडी तथा स्थानीयको सहभागिता थियो ।

दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित रंगशालामा हुनेछ भने समापन मङ्सिर २७ गते हुने तय भएको छ । प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७