१४औँ किन्डर ओलम्पिक तीन चरणमा, ५० विद्यालय सहभागी हुने


२०८३ मङ्सिर १० बिहीबार १८:३३ बजे

काठमाडौं : प्रतिस्पर्धाभन्दा सहभागिता र सिकाइलाई प्राथमिकता दिँदै १४औँ किन्डर ओलम्पिक तीन चरणमा आयोजना हुने भएको छ ।

अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता)को आयोजनामा हुने प्रतियोगितामा काठमाडौँ उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुनेछन् ।

‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको किन्डर ओलम्पिकमा ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकाले विभिन्न १८ खेलमा सहभागिता जनाउनेछन् । 

सहभागी विद्यालय र बालबालिकाको संख्या धेरै भएकाले प्रतियोगिता तीन चरणमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

पहिलो चरणको कार्यक्रम मंसिर १२ गते शनिबार काठमाडौँस्थित दशरथ रंगशालामा हुनेछ । दोस्रो चरण पुस १२ गते र तेस्रो चरण माघ १० गते लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा आयोजना गरिनेछ ।

कार्यक्रम व्यवस्थित र सहज रूपमा सञ्चालन गर्न प्रत्येक चरणमा ५० भन्दा बढी स्वयंसेवक परिचालन गरिने एकताका अध्यक्ष सुवर्ण केसरी महर्जनका अनुसार । प्रतियोगितामा बालबालिकालाई एकअर्कासँग प्रतिस्पर्धा गर्नुभन्दा व्यक्तिगत लक्ष्य हासिल गर्न र आफ्नो क्षमता प्रदर्शन गर्न प्रोत्साहित गरिने उनले बताए।

कार्यक्रमको अन्त्यमा सहभागी सबै बालबालिकालाई पदक तथा विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने एकताका अध्यक्ष सुवर्ण केसरी महर्जनले जानकारी दिए ।

एकताकी संस्थापक सदस्य रुपा अधिकारीले सानै उमेरदेखि बालबालिकामा खेलकुदप्रति रुचि जगाउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने बताइन् । उनले खेलकुदले बालबालिकाको आत्मविश्वास बढाउनुका साथै नैतिकता, इमानदारी र जिम्मेवारीबोध विकास गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

त्यस्तै, एकताकी संस्थापक सदस्य तथा १४औँ किन्डर ओलम्पिककी संयोजक बिना शर्माले साना बालबालिकाका लागि अन्तरविद्यालयस्तरीय खेलकुद तथा सिर्जनात्मक कार्यक्रमको अभाव महसुस भएपछि संस्था स्थापना गरिएको बताइन् ।

करिब १७ वर्षअघि स्थापना भएको संस्थाको उद्देश्य पूर्वप्राथमिक तहका बालबालिकालाई विद्यालयको सीमाभन्दा बाहिर ल्याएर अन्तरविद्यालयस्तरीय गतिविधिमा सहभागी गराउनुका साथै शिक्षकहरूको बालमैत्री व्यवहार र पेसागत विकासमा सहयोग पुर्‍याउनु रहेको उनले बताइन् ।

बालबालिकामा खेलकुदसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले किन्डर ओलम्पिक सुरु गरिएको पनि शर्माले जानकारी दिइन् ।

पूर्वप्राथमिक तहका बालबालिकाको सर्वाङ्गीण विकास, आत्मविश्वास अभिवृद्धि र खेल संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित एकताले विगत १६ वर्षदेखि बालबालिकाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७