कर्णाली नदीमा जेसीबी खस्दा दुईको मृत्यु, तीन जना बेपत्ता


२०७९ मङ्सिर २४ शनिबार १७:२४ बजे

सुर्खेत । कालीकोट अन्तर्गत कर्णाली करिडोर सडक खण्डमा कर्णाली नदीमा जेसीबी खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज (शनिबार) दिउँसो साढे १ बजेतिर कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेँरीखोला नजिकबाट जेसीबी नदीमा खसेको प्रहरीले जनाएको छ । कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी शुक्रराज बमले जानकारी दिए ।

यस्तै, बेपत्ता हुनेमा कैलाली घर बताउने अन्दाजी २२-२३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी र सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

यस्तै घाइते तीन जनालाई तत्काल उद्धार गरेर बोलेरो जीपमा उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पुर्‍याइएको छ । घाइते हुनेहरुमा रास्कोट नगरपालिका–७ का १४ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीय विकास भारती र खाँडाचक्र–११ कै १४ वर्षीया आशिष भारती छन् ।

फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन सुरुङ भित्र पानीको अवस्था जाँच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । जेसीबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७