कोशीमा यसरी हल हुँदै मन्त्रिमण्डल पुनर्गठनको ‘किचलो’


२०८१ श्रावण १२ शनिबार ०८:२० बजे

मोरङ । कोशी प्रदेशमा सरकार गठनको विषयमा देखिएको नेकपा एमाले र नेपाली कांग्रेसबीचको असमझदारीले समाधानको बाटो समातेको छ । कोशीमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डामा लगभग सहमति गरेका छन् ।

दुई दलका नेताहरुबीच भएको अनौपचारिक छलफलमा चार÷चार वटा मन्त्रालय राख्न सहमति गरेका हुन् । औपचारिक छलफल भने आज (शनिबार) हुने बताइएको छ । नेकपा एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउनेछ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण सरकार पुनर्गठनमा ढिलाइ भएपछि मापदण्ड बनाएर समस्या समाधान गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएका कारण कोशीमा मन्त्रिमण्डल पुनर्गठन हुन सकेको थिएन । सरकारमा सहभागी हुने मन्त्रीका विषयमा मापदण्ड बनाएपछि मन्त्री हुनेको नाम र संख्या बाडँफाटँ सहमति नजिक पुगेको हो । कोशी प्रदेश सरकारको पुनर्गठनका विषयमा आज पनि एमाले र कांग्रेसकाबीचमा छलफल हुँदैछ । काठमाडौंमा हुने छलफलका लागि हिक्मतकुमार कार्की आजै काठमाडौँ जाँदैछन् । प्रदेशमा मात्रै छलफल गरेर मन्त्री हुनेको नाम र मन्त्रालय भागबन्डा नटुङ्गिएपछि शीर्ष नेताहरूको रायसहित बैठक बस्न लागेको हो ।

यसअघि कांग्रेस संसदीय दलको बैठक समेत काठमाडौंमा बसेको थियो । बैठक बसे पनि मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण कांग्रेसले मन्त्री हुनेको नाम मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन सकेको थिएन । कोशीमा एमालेबाट मुख्यमन्त्रीसहित पाँच जना मन्त्री र काङ्ग्रेसबाट ४ मन्त्री बनाउने तयारी छ ।

यस्तै थप एक जनालाई राज्यमन्त्री बनाउने तयारी भएको छ । कांग्रेसका ४ जना मन्त्रीमध्ये दुई जना देउवा पक्षबाट र एक एक जना शेखर कोइराला र सिटौला पक्षबाट मन्त्री बनाउने तयारी भए पनि काङ्ग्रेसभित्रै कुरा मिल्न सकेको छैन । शेखर पक्षले कोशीमा दुई जना मन्त्री मागेको स्रोतको दाबी छ । कोशीमा विवाद भएपछि यसअघि मन्त्री भई सकेकालाई मन्त्री नबनाउने विषयमा छलफल भई रहेको छ ।

पहिला मन्त्री भई सकेकालाई सरकार नपठाउने विषयमा सहमति भए खोटाङका भूपेन्द्र राई, इलामका गोविन्द गिरी , मोरङका भीम पराजुली र मोरङकै मानबहादुर लिम्बु मन्त्री हुनेछन् । शोभा चेम्जोङ र गयानन्द मण्डलबाट एक जना राज्यमन्त्री हुने देखिएको छ । आन्तरिक किचलो मिलाएर सोमबारसम्ममा कांग्रेसबाट मन्त्री हुनेको नाम र मन्त्रालय बाडँफाँट टुङ्गोमा पुग्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले १–२ दिन भित्रमै सबै कुरा टुङ्गिने बताए । उनले मन्त्रालय बाँडफाँटका विषयमा दुई दलका बीचमा कुरा सकेको बताए । माओवादीबाट मन्त्री भएकाहरूले हिजो राजीनामा दिएपछि ३ वटा मन्त्रालय खाली भएको छ । यस्तै उद्योग कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैले राखेकाले सो मन्त्रालय खाली छ ।

खाली भएकै मन्त्रालय लिएर जाने विषयमा कांग्रेस सहमत देखिएको छ । कोशीमा माओवादीले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय लिएको थियो । मुख्यमन्त्री कार्कीले चाडै कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी भएको बताए । उनले सरकारमा काङ्ग्रेसलाई सहभागी गराउने विषयमा काठमाडौंमा छलफल हुने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७