लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई


०१:३० बजे

कास्की । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागिय टोली एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिस क्लब गत वर्षको उपविजेता हो । नवआदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो । 

यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट)का कारण १–१ सेटको बराबरीमा रोकिएपछि आज खेलाइएको थियो । पुलिसले पहिलो सेट २५–१६को सहज जित निकाले पनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनःखेलमा फर्कँदै पुलिसले २५–१९ को जित हासिल गर्‍यो तर चौथो सेटमा एपिएफ खेलमा फर्कदै २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो ।

अन्तिम सेटसमेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै सङ्घर्ष गरे पनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद रू एक लाख ५० हजार हात पारेको छ । उपविजेता एफिएफले रू एक लाख एक सय ११ प्राप्त गर्‍यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित भए । सोही क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल विक उत्कृष्ट ब्लकर घोषित भए । यस्तै, एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर  र पुलिस क्लबका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरू सबैलाई समान रू पाँच–पाँच हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो । 

प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल गर्‍यो तर तेस्रो सेटमा १३–२५ को हार बेहोरेको एपिएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिता यही भदौ १९ गतेदेखि सञ्चालन भएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७