घुसखोरी र कमिसन बन्द गर्न माग गर्दै आजपाले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । आम जनता पार्टी (आजपा) सप्तरीले गृहमन्त्री रमेश लेखकलाई बिभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।सिंहदरबारमा पुगेर आजपा नेताले आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो । सप्तरी जिल्लामा भईरहेको घुस एवं कमिसनको खेल बन्द गर्नुपर्ने माग गर्दै आजपाले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडियो) मेघबहादुर मग्रान्ती, तत्कालीन प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्य, तत्कालीन प्रहरी सहायक उपरीक्षक (डिएसपी) दुण्डीराज न्यौपाने, नापी अधिकृत सुमनकिशोर मिश्र लगायतकालाई कानूनी कारवाही गर्न माग गरिएको छ ।
यस्तै नापी कार्यालय राजविराजको घटनाक्रमको विषयमा निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग समेत आजपाले गरेको छ । यस्तै आजपाले मिटरव्याजी एवं लघुवित्त पीडितलाई प्रहरी प्रशासनले गर्ने हेपाहा प्रवृक्तिको व्यवहार अन्त्य गर्नुपर्ने र त्यस्तो प्रवृत्ति देखाउने कर्मचारीलाई कारवाही गर्न माग गरिएको छ । संविधान अनुसार वाक स्वतन्त्रताको पूर्ण प्रत्याभूति हुनुपर्ने माग समेत गरिएको छ ।
‘म प्रमोद शाह राणा विगत लामो समयदेखि समाजसेवामा रही आवाजबिहीन आम नागरिकको पक्षमा बोल्दै र लड्दै आएको मान्छे म पछिलो पटक देशभर मिटर व्याज पीडितहरुको पक्षमा उनीहरुलाई न्याय दिलाउन पैदल यात्रा गर्दै काठमाडौँसम्म आएर सरकारसँग न्यायका लागि गुहार लगाउने मान्छे हो’। राणाले भने । हालै नापी कार्यालय राजविराजमा भएको घटनाको बारेमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउँदै दुःख दिने र उल्टै झुठा मुद्दामा फसाउन खोज्नेलाई कडा कारवाही गर्न माग गरिएको छ ।
‘म मिटर व्याजपीडित, लघुवित्त पीडित र भ्रष्टचारविरुद्ध निरन्तर लड्दै आएकाले सप्तरीका स्थानीय प्रहरी प्रशासन र पछिल्लो समय भ्रष्टाचार गर्ने अखडाकै रूपमा नाम कमाएका नापी कार्यालय सप्तरीका कर्मचारी र कार्यालय प्रमुख सुमनकिशोर मिश्र, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजुसिद्ध बज्राचार्य, डिएसपी दुण्डीराज न्यौपाने र प्रमुख जिल्ला अधिकारी मेघबहादर मग्रान्ती लगायतले षड्यन्त्र गरी मलाई फसाएको बिषयमा गृहमन्त्री ज्यूको ध्यानाकर्षण गराउँदै कारवाहीको माग गरेका छौं’ ज्ञापनपत्र बुझाएपछि राणाले भनेका छन् ।
भ्रष्टाचार, अनियमितताको विरोध गरेपछि आजपा केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला इञ्चार्ज समेत रहेका प्रमोद शाह राणालाई दुःख दिने र झुठो मुद्दामा फसाउने खेल भएको थियो । सोही बिषयमा राणाको नेतृत्वमा एक टोली सिंहदरबार काठमाडौंमा पुगेर गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।
सो टोलीमा आजपा स्थायी कमिटी सदस्य सुनिता साह (क्रान्ति), आम महिला मोर्चाका केन्द्रीय सचिव विभा साह, आम महिला लघुवित पीडित संघर्ष समितिका सचिव सदानन्द मण्डल, आईटी आर्मीका केन्द्रीय सदस्य अनामिका साह, आम महिला मोर्चाका केन्द्रीय कमिटीका कोषाध्यक्ष मिनादेवी साह, आजपा नेताहरु सूर्यनाराण सरदारलगायतको सहभागिता थियो ।
.gif)

.png)

