लेबनानमा शान्ति सेनामाथि इजरायली आक्रमणको नेपालद्वारा निन्दा


२०८१ असोज २९ मंगलबार १४:३९ बजे

काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलले हालै गरेको आक्रमणको कडा निन्दा गरेको छ ।परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ .

सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले भनेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नु पर्दछ र घटनाको गहन अनुसन्धान गर्नु पर्दछ ।’

संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबरजस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक समेत घाइते भएका थिए ।

लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खट्दै आएका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले दक्षिणी लेबनान र मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षरकर्ता देशहरुले संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेका छन् । यसरी आह्वान गर्नेहरुमा नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड छन् । यसैगरी इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानिया छन् ।

Nepal strongly condemns recent attacks on the UNIFIL peacekeepers & urges parties of the conflict to guarantee their safety & security.
Such actions must stop immediately & should be adequately investigated.

A joint statement by 34 UNIFIL-contributing countries

pic.twitter.com/CjrmwuuTR2

— MOFA of Nepal 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७