वीरगञ्ज नाकाको मितेरी पुलमा एसएबीले चलायो गोली


२०८१ असोज २९ मंगलबार ०६:१५ बजे

पर्सा । वीरगञ्ज–रक्सौल नाकास्थित नेपालतर्फको भू–भागमा मंगलबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको छ । भारत तर्फबाट कवडी सामान लिएर आउँदै गरेका चार जना व्यक्तिलाई खेद्दै आएका एसएसबी जवानले नेपाली भूमिमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भूमिमै पसेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले जानकारी दिइन् । कवाडी संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमिमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको ती महिलाले सुनाइन् । एसएसबीले गोली चलाएपछि उनीहरू नेपालतर्फ भागेको उनले जानकारी दिइन् । एसएसबीले गोली चलाउनुको कारण अहिलेसम्म खुलेको छैन ।    

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले भने घटनास्थलमा एउटा गोलीको खोका भेटिएको जानकारी दिए । नेपाल–भारत सीमाको मितेरी पुलको छेउमा रहेको नेपाली भू–भागमा इन्सास राइफलमा लाग्ने एउटा गोलीको खोका भेटिएको उनले बताए । पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७