विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब नाघ्यो, १४ महिनाको बस्तु आयात धान्ने


२०८१ असोज २९ मंगलबार ०६:१४ बजे

काठमाडौं । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो ५.५ प्रतिशतले बढी हो । गएको दुई महिनामा थप एक खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिएको हो । गत असारसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।


कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ सय ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई २ सय २३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।

२०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७