समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ


२०८१ असोज ३० बुधबार २१:०७ बजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताएका छन् । नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताए ।

‘नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रिणी समाजलाई संरक्षण गर्नुपर्छ’, मन्त्री गुरुङले भने, ‘राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ ।’ मन्त्री गुरुङले  नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए । ‘नेपाल टेलिभिजन राज्यको हो, यस्मा राज्य झल्किनु पर्छ’, उनले भने, ‘काठमाडौँमा नेपाल भाषा बोल्ने धेरै हुनुहुन्छ, यही भाषामा समाचार सुन्न र हेर्न पाउँदा उहाँहरुलाई गर्व लाग्छ, यो नेपाल टेलिभिजनको गौरवपूर्ण काम हो ।’

राससले मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गरे ।

नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग  शाहले स्रोतसाधनको अभावका बाबजुत पनि राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न सधै‌ तयार रहेको र नेपालको भाषा संरक्षण तथा संवद्र्धन गर्न नेपाल टेलिभिजन सधैँ तयार रहेको बताए । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राज्यको प्राथमिकता प्रवद्र्धन गर्न गत वर्षदेखि नै भाषभाषीको समाचार प्रसारण गर्न काम सुरु गरेको र बागमती प्रदेशको दोस्रो ठूलो भाषा ‘नेपाल भाषा’ आजदेखि प्रारम्भ गरेको बताए । नेपाल टेलिभिजनबाट आज अपराह्न ४ः३० बजे नेपाल भाषाको समाचार प्रसारण हुने बताइएको छ ।

नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसंख्या आठ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ । नेपाल टेलिभिजनले गत वर्षदेखि तामाङ र गुरुङ भाषामा केन्द्रबाट समाचार प्रसारण गर्दै आएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत उपस्थित थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७