समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्छ : सञ्चारमन्त्री गुरुङ


२०८१ असोज ३० बुधबार २३:१३ बजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका छन् । मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला बुधबार रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

मन्त्री गुरुङले समानुपातिक प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनी दिए । उनले मुलुकलाई द्वन्द्वमा फस्न नदिन मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पार्दै, यो प्रणालीले सबैलाई बराबर अधिकार सुनिश्चित गर्ने बताए ।

संघीय शासन प्रणालीलाई दोष दिनु अघि राजनीतिक दलहरूले आफ्नो व्यवहार, आचरण, र कार्यशैलीमा रहेको कमजोरी सुधार्नुपर्ने उनले जोड दिए । मन्त्री गुरुङले संघीयताको उद्देश्य राष्ट्रिय एकता प्रवर्द्धन गर्नु र जनताको सेवा प्रभावकारी बनाउनु रहेको स्मरण गराउँदै भने, ‘संघीयतामा जाँदा जनप्रतिनिधिहरुको काममाथि जनताको निगरानी बढी हुन्छ । जनताले आफ्ना प्रतिनिधिहरूलाई नजिकै राखेर उनीहरूको कामको मूल्यांकन गर्न सक्छन् ।’

उनले समानुपातिक प्रणाली हटाउनु भनेको अर्को द्वन्द्व निम्त्याउनु भएकाले, यो प्रणालीलाई आवश्यक ठहर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामीले किन मिश्रित निर्वाचन प्रणाली अपनायौं ? प्रश्न उठिरहेकै छन् । समानुपातिक हटाउनु पर्छ भन्ने आवाज छ । तर, समानुपातिक हटायो भने अर्को द्वन्द्वमा फस्न तयार हुनुपर्छ’, उनले भने ।

मन्त्री गुरुङले संघीयता ल्याउनुको मुख्य कारण विभेद अन्त्य गर्न, झगडा रोक्न, र जनतासँग सरकारलाई नजिक राख्न रहेको बताए । ‘जति सरकार नजिक हुन्छ, त्यति नै जनताको सेवा राम्रोसँग गर्न सकिन्छ’, उनले थपे । उनले राजनीतिक दल र नेताहरूले आफ्नो आचरण सुधार गर्दै संघीयता र निर्वाचन प्रणालीलाई सही ढंगले चलाउनु पर्ने आवश्यकता औंल्याए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७