पुटिनले किन दिएनन् ट्रम्पलाई बधाई, जेलेन्स्की र नेतान्याहुले के भने ?


०३:१६ बजे

काठमाडौं । अमेरिकको राष्ट्रपति पदमा निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई विश्वभरका नेताहरूले बधाई दिएका छन् । युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएट्लान्टिक एजेण्डा’ मा मिलेर काम गर्ने आशा व्यक्त गरेकी छन् । 

त्यस्तै उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उनको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकांक्षाका साथ उहाँसँग काम गर्न तयार छौं ।’ म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ।’ 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’ को प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्प, तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।’ अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पनि बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै, ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीच सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । 

चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’ को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भनेका छन्, ‘हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौँ ।’ 

त्यस्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै ट्रम्पको कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् । ‘म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु । यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको विजयलाई ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताएका छन् । जपानका प्रधानमन्त्री सिगेरु इसिबाले ‘जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा गरेको पत्रकारहरूलाई बताएका छन् । 

सन् २०२६ मा अमेरिकाभन्दा अघि आगामी वर्ष जी २० को अध्यक्षता सम्हाल्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताएका छन् । 

साउदी अरेबियाका राजा सलमान र उनका छोरा, वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पलाई पठाएको तारमा राजा सलमानले ‘दुई मित्र देश र जनताबीचको नजिकको सम्बन्धलाई सबैले सबै क्षेत्रमा बलियो र विकसित गर्न चाहन्छन्’ भन्दै प्रशंसा गरेको आधिकारिक साउदी प्रेस एजेन्सीले जनायो ।

गाजा द्वन्द्वमा प्रमुख मध्यस्थकर्ता र मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डाको आतिथ्यकर्ता कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले ‘क्षेत्र र विश्वव्यापी रूपमा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न फेरि सँगै काम गर्न’ तत्पर रहेको बताएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘मेरा मित्र डोनाल्ड ट्रम्पलाई’ बधाई दिए । ‘टर्की–अमेरिका सम्बन्ध बलियो हुनेछ, क्षेत्रीय र विश्वव्यापी सङ्कट र युद्धहरू, विशेषगरी प्यालेस्टिन मुद्दा र रुस–युक्रेन युद्ध समाप्त हुनेछन् भन्ने मलाई आशा छ’, उनले वक्तव्यमा भने ।

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले ट्रम्पको ह्वाइट हाउस फिर्तीले मध्यपूर्वमा शान्ति ल्याउन मद्दत गर्नसक्ने आशा व्यक्त गरे । ‘म उहाँलाई सबै सफलताको कामना गर्छु र सँगै शान्ति प्राप्त गर्न, क्षेत्रीय स्थिरता कायम राख्न र इजिप्ट–संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक साझेदारी सुदृढ गर्न तत्पर छु’, उनले भने । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ट्रम्पलाई बधाई दिँदै भने, ‘तपाईंको बलियो नेतृत्वमा, दक्षिण कोरिया–अमेरिका गठबन्धन र अमेरिकाको भविष्य अझ उज्यालो चम्कनेछ । तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु ।’

इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले ‘हार्दिक बधाई’ दिए । ‘इटाली र संयुक्त राज्य अमेरिका अटल गठबन्धनद्वारा जोडिएका ‘भगिनी’ राष्ट्रहरू हुन्’, उनले भने । युरोपमा ट्रम्पका सबैभन्दा नजिकका सहयोगी प्रधानमन्त्री भिक्टर ओर्बनले यो परिणामलाई ‘सम्भवतः पश्चिमी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन’ भनेका छन् । ‘उनीहरूले उहाँलाई जेलको धम्की दिए, उहाँको सम्पत्ति खोसे, उहाँको हत्या प्रयास गरे, अमेरिकाको सम्पूर्ण मिडिया जगत् उहाँको विरुद्धमा गयो र पनि उहाँ विजयी हुनुभयो’, उनले फेसबुकमा लेखेका छन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने ट्रम्पलाई बधाई दिएका छैनन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पलाई बधाई दिने सम्बन्धमा रुसका राष्ट्रपति पुटिनले योजना समेत नबनाएको प्रस्ट पारेका छन् । ट्रम्पले चाल्ने ठोस कदमका आधारमा उनको मूल्याङ्कन गरिने पेसकोभको भनाइ छ । उनले बुधबार भने, ‘ट्रम्पलाई बधाई दिने सम्बन्धमा राष्ट्रपति पुटिनले कुनै योजना बनाएको मलाई अहिलेसम्म थाहा छैन ।’

उनले अमेरिका प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुस विरुद्ध युद्धमा सामेल रहेको भन्दै यो तथ्यलाई नजरअन्दाज गर्न नमिल्ने पनि प्रस्ट पारे । अमेरिका रुसी हितको प्रतिकूल खडा भएको पेसकोभको भनाइ थियो । अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनुका साथै युद्धमा युक्रेनको पक्षमा उभिएको जस्ता कारण पनि ऊप्रति रुसको सहानुभूति नरहने पेसकोभले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७