नजिकको मान्छेको विश्वास गर्दा फसें : पूर्व मन्त्री अधिकारी
मोरङ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले आफ्नो गाउँको, आफ्नै पार्टीको र आफ्नै नजिकको मान्छेको विश्वास गर्दा आफू फसेको बताएका छन् । पूर्वमन्त्री अधिकारीले आफ्नो नजिकको र विश्वासिलो मानिसको प्रयोग गरेर नियोजित रुपमा आफूलाई फसाइएको बताएका हुन्। मन्त्री अधिकारीले नजिकको त्यो पनि शङ्कै गर्न नसक्ने मानिसमार्फत गिरोहले नियोजित रुपमा जापान लैजाने भनेर फसाएको बताए ।
मन्त्री अधिकारीले मानव तस्करीमा आफू संलग्न नै नभएको दाबी गरेका छन् । मन्त्री अधिकारीले भने ‘मैले मानव तस्करी गरेको भए पक्राउ परेकाहरूले नै मेरो बारेमा सबै बयान दिइसक्ने थिए ।’ उनले अनुसन्धानबाट प्रमाण भेटिए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे । पूर्वमन्त्री अधिकारीले जापान जाने प्रक्रियामा आफ्नो गल्ती भएको स्वीकार गरे। तर, मानव तस्करी आफूले नगरेको बरु तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न सहयोग गरेको उनले स्पष्ट पारे ।
उनले भने, ‘मैले अनुसन्धानमा सहयोग गरेको हुँ । मैले मान्छे बेचेको छैन । मान्छे बेच्नेलाई कानुनी दायरामा ल्याउन सहयोग गरेको छु ।’ अनुसन्धानमा सहयोग गर्न नै पार्टीको जिम्मेवारी र सरकारको जिम्मेवारीबाट मुक्त भएर बसेको अधिकारीले स्पष्ट पारे । उनले जापान जानेक्रममा आफूलाई गिरोहले फसाउन खोजेको चाल पाउने बित्तिकै प्रहरीलाई सूचना दिएको दाबी गरे ।
यति मात्रै हैन मन्त्री पदबाट पनि आफैंले राजीनामा दिएको र पार्टीको जिम्मेवारीबाट मुक्त गर्नसमेत आफैले माग गरेको स्पष्ट पारेका छन् । जापान जाने प्रक्रियामा गिरोहको विश्वास गरेर आफूले गल्ती गरेको भए पनि मानव तस्करीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो संलग्नता नभएको अधिकारीले जिकिर गरे ।
उनले छानबिनका लागि राज्यलाई सबै खालको सहयोग गर्न तयार रहेको बताए । गत कार्तिक १३ गते कूटनीतिक मर्यादा विपरीत जापान भ्रमणमा गएका तत्कालीन मन्त्री अधिकारीलाई कार्तिक १७ गते जापानको विमानस्थलबाटै अध्यागमनले फर्काइदिएको थियो ।
नेपालबाटै अन्य तीन जनालाई समेत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कर्मचारी बनाएर भ्रमणमा लगेको र मानव तस्करी गरेको गम्भीर आरोप समेत उनलाई लागेको छ । जसका कारण उनको जापान भ्रमण विवादित बन्न पुगेको छ । जापान भ्रमणकै कारण उनले मन्त्री पद मात्रै गुमाउनुपरेन पार्टीले सङ्गठित सदस्यबाट समेत निलम्बन गरेको छ ।