‘महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य’


२०८१ कार्तिक २५ आइतबार ०६:४६ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । 

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १४०औं जन्म जयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उनले दिएको मार्गनिर्देश अनुशरणयोग्य रहेको बताएका छन् ।

राष्ट्रपतिले सन्देशमा भनेको छ, ‘फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ ।’ सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्य समेत गरेको उनले स्मरण गरेका छन् । राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । 

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उनको जन्म जयन्ती मनाउने गरिन्छ ।

फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन् । फाल्गुनन्द जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले फाल्गुनन्दले तयार पारेको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

‘छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन्’, उपराष्ट्रपतिले भनेका छन् । 

फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र अवलम्बन गर्नुभएको सत्मार्ग सिङ्गो नेपाली समाजको मार्गदर्शन गर्ने महत्त्वपूर्ण पक्ष भएको उपराष्ट्रपति यादवको भनाइ छ । ‘फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ–आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्काउलोपन, आडम्बर र महँगा कुसंस्कृतिलाई मितव्ययी एवं संयमित बनाउन सहयोग पुग्ने भएकाले हामी सम्पूर्णले त्यसको परिपालना र अनुशरण गर्न अति जरुरी छ’, उनको सन्देशमा उल्लेख छ । 

उपराष्ट्रपति यादवले किराँत धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको फाल्गुनन्दले शिक्षा, सामाजिक समता र सांस्कृतिक पहिचानको क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गरे । किराँत समुदायका धर्मगुरु भए पनि सबै समुदायले फाल्गुनन्दप्रति समान श्रद्धा र आस्थाका साथ जन्मजयन्ती भव्यताका साथ मनाउने गरेको उल्लेख गर्दै उनले किराँत धर्म र संस्कृतिको मौलिक पहिचानको संरक्षणमा जोड दिँदै समाज सुधारको अभियानमा फाल्गुनन्द जीवनभर अहोरात्र समर्पित एवं सक्रिय रहेको बताएका छन् । 

यस जयन्तीलाई किराँत समुदायको गौरवशाली इतिहास र परम्परालाई जगेर्ना गर्ने अवसरका रूपमा लिन सक्नु पर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण फाल्गुनन्द जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म जयन्तीले सम्पूर्ण नेपालीलाई देश र समाजमा सदाचार, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै मुलुकको विकासको महाअभियानमा जुट्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७