नेपालले आजदेखि बंगलादेशमा बिजुली बेच्दै : प्रतिमहिना ३३ करोड आम्दानी हुने


२०८१ कार्तिक ३० शुक्रबार १२:२२ बजे

काठमाडौँ । नेपालले पहिलो पटक आज (शुक्रबार) देखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

बंगलादेशलाई बिजुली बेच्ने शुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी छ । नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ । त्यसपछि बिजुली बेच्न अर्को वर्ष जुन १५ तारिख कुर्नु पर्नेछ । सम्झौताअनुसारको अन्तिम दिन आज बिजुली बंगलादेशमा पठाएर सुखद सन्देश दिन खोजिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताएका छन् ।

बंगलादेशमा विद्युत पठाउन आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न भारतले सहमति दिएको प्राधिकरणले जनाएको छ । नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु) मा कारोबार हुँदै आएको छ ।

बङ्गलादेशलाई बिजुली बिक्री गर्दा प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान छ । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ । गएको असोज १७ मा भएको सम्झौतामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले हस्ताक्षर गरेका थिए ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत पुर्‍याउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको ह्विलिङ चार्ज अर्थात् प्रसारण लाइनवापतको शुल्क नेपाल विद्युत् प्राधिकरणले र मुजफ्फरपुरबाट बंगलादेशसम्मको शुल्क बंगलादेशले व्यहोर्ने सहमति भएको छ । कति बिजुली निर्यात भयो भनेर यकिन गर्न मुजफ्फरपुरमै मिटर रहनेछ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७