कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे वाल्टन र बाबर


२०८१ मङ्सिर १२ बुधबार १२:२९ बजे

काठमाडौं । कर्णाली याक्समा अनुबन्धित विदेशी खेलाडीद्वय चाडविक वाल्टन र बाबर हायात नेपाल आइपुगेका छन् । वेस्ट इण्डिजका वाल्टन र हङकङका हायात मंगलबार काठमाडौं ओर्लिएका हुन् । छुट्टाछुट्टै आएका  उनीहरुलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्ल लगायतले स्वागत विमानस्थलमा स्वागत गरेका थिए ।

वाल्टनले वेस्ट इण्डिजका लागि टी–२० आईमा १९ खेल खेल्दा २ सय २५ रन बनाएका छन् । सबैखाले टी– २० मा १८८ खेलमा ३५७८ रन बनाएका छन् । वाल्टनले यसअघि पनि नेपालमा आएर टी–२० क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी–२० लिगमा उनले जनकपुर रोयल्सबाट खेलेका थिए ।

३२ वर्षीय बाबरले हङकङका लागि ७९ टी–२० आई खेलमा १ हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई सतक र १० अर्धसतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए । हायातले हङकङको टोलीबाट पनि धेरै पटक नेपाल आएर खेलिसकेका छन् । नेपाली लिग पनि उनले खेलेका छन् ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरेको छ। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी भारतका शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेस्ट इण्डिजबाट टेष्ट खेलिसकेका वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई टोलीमा अनुबन्ध गरेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । ’बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ’सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ’फेस अफ कर्णाली याक्स’ नियुक्त गरिसकेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटल हिल्टन छ । एनपीएल प्रतियोगिता मंसिर १५ देखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिता पुस ६ गतेसम्म चल्नेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७