एमसीसी अन्तर्गतको ४४० केभी प्रसारण लाइनका लागि फेरि ठेक्का आह्वान


२०८१ मङ्सिर १२ बुधबार १४:१५ बजे

काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटरको ४०० केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि फेरि बोलपत्र आह्वान गरेको छ । एमसीए नेपालले आज सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि खरिद प्रस्ताव आह्वान गरेको हो ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ माघ १७ गते तोकिएको छ । पहिले गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको हो ।

एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदै छ । नयाँ रातमाटे सबस्टेशन निर्माणको लागत ६ अर्ब बढी छ । एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदैछ ।

त्यसमध्ये ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन, ४०० केभीकै तीनवटा सबस्टेसन तथा दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने तीन परियोजना कार्यान्वयन हुनेछन् । यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए ।

कम्पनीहरूले गरेको सबैभन्दा कमको टेन्डर नै एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो । त्यो प्रसारण लाइनको न्यु बुटवल–गोरखपुर १८ किलोमिटर लामो सीमापार खण्डलाई छुट्याएर यसअघि नै ठेक्का लागिसकेको छ । ५ वर्षमा निर्माण सम्पन्न हुनैपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको एमसीए परियोजना गत वर्षको १३ भदौमा कार्यान्वयनमा गएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७