सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अघि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए । उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको बताए । उनले धितोपत्र बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको पनि उल्लेख गरे । उनले पूँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताएका छन् ।
‘नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ । त्यही अनुसार अगाडि बढ्ने हो । धेरै विषयहरू अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ । अब सरकारको के निर्देशन आउँछ । त्यही अनुरुप अगाडि बढ्ने हो’, उनले भने ।
उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने बताए । अध्यक्ष श्रेष्ठले पूँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानु पर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । पूँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोशिस गर्ने बताए ।
उनले भने, ‘लगानीकर्ताहरूको सुरक्षा पहिलो प्राथमिकता हो । पूँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । त्यसको हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । पूँजीबजारलाई अत्यधिक रूपमा प्रयोग गर्न सक्छौं । यी नै विषयलाई प्राथमिकताका साथ काम गर्ने उद्देश्यले जिम्मेवारीमा आएको छु ।’