भर्खरै जन्मिएकी शिशुलाई स्वागत गर्दै प्रधानमन्त्रीले गरे जनसंख्या सम्मेलन उदघाटन 


२०८१ मङ्सिर १२ बुधबार १७:४२ बजे

काठमाडौं । काठमाडौंमा छैटौँ एसियन जनसंख्या सम्मेलन सुरु भएको छ । सम्मेलनको आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । सम्मेलन उदघाटन गर्दा भने प्रधानमन्त्री ओलीले नयाँ शैली अपनाएका छन् ।

प्रधानमन्त्री ओलीले भिडियो कलमार्फत भर्खरै जन्मिएकी बालिकालाई स्वागत गरेर आमा र बच्चा दुवैको स्वास्थ्य लाभको कामना गर्दै सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओलीले नयाँ शैली अपनाएका हुन् ।  प्रधानमन्त्री ओलीले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा भर्खर प्रसूति भएकी मीना श्रेष्ठ र उनकी नवजात छोरीलाई भिडिओ कलमार्फत स्वास्थ्य लाभको कामना पनि गरेका हुन् । श्रेष्ठले अपरेसनबाट दोस्रो सन्तानका रूपमा छोरी पाएकी हुन् ।

उनले पहिला पनि अपरेसनबाटै बच्चा जन्माएकी थिइन् ।  श्रेष्ठले पनि जनस्वास्थ्य विषय अध्ययन गरेकी छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एसियन पपुलेसन एसोसिएसन (एपीए) को सहकार्यमा सम्मेलन सुरू भएको छ । मंसिर १५ गतेसम्म चल्ने सम्मेलनमा ५० देशका ७०० बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी रहेको आयोजक समिति संयोजक प्राडा योगेन्द्रबहादुर गुरुङको भनाइ छ ।

सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । विश्वव्यापी जनसांख्यिकीय परिवर्तनहरू, सामाजिक–आर्थिक प्रभावहरू र जनसंख्या व्यवस्थापनका चुनौतीहरूमा केन्द्रित रहेर सम्मेलनमा बहस हुने गुरुङले जानकारी दिए । नेपालले यस्तो सम्मेलन पहिलो पटक आयोजना गर्न लागेको हो । यसअघि यो सम्मेलन नयाँ दिल्ली (२०१०), बैंकक (२०१२), क्वालालम्पुर (२०१५), सांघाई (२०१८) र जकार्ता (२०२१) मा भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७