लगातार दुई दिन घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको भाउ फेरि फेरि उकालो लागेको छ । दुई दिन (सोमबार र मंगलबार) निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य आज (बुधबार) फेरि बढेको हो । नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको मूल्य ओरालो लागेको थियो । आज फेरि बढेको हो । सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ ।
यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो । यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक तोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ कायम भएको थियो ।