तरकारीको क्रेटमा १६० किलो गाँजा, गाडीसहित युवक पक्राउ
हेटौंडा । मकवानपुरको त्रिभुवन राजपथको भिमफेदी गाउँपालिका–२ भैंसे चेक प्वाईन्टबाट १६० किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको प्र. ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाइछिपाइ ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक अमिरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
गाडीमा खाली तरकारी बोक्ने क्रेटले छोपेर गाँजा राखेर ल्याइएको थियो । प्लास्टिकले प्याक गरेर ३० वटा पोका बनाएर गाँजा ल्याइएको प्रवक्ता अर्यालले जनाए । मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि मंसिर ११ गतेसम्म २ हजार ५ सय ६० किलो गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ । लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक ६२ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई फ्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ किलो गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरोहिरोइन र १ सय ५ किलो चरेश बरामद गरेको थियो ।