पूर्व सहसचिवसहित सात जनाविरुद्ध  भ्रष्टाचार मुद्दा


१७:३० बजे

काठमाडौं । पशुपंक्षी हाटबजार बनाउन लगेको  साढे ४४ लाख सरकारी अनुदान हिनामिना भएको छ । अनुदान रकममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालय ललितपुरका कार्यकम निर्देशक डा. बलराम थापा क्षेत्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापा अवकास प्राप्त सहसचिव हुन् । 

आयोगले अछामको साफेबगर नगरपालिका वडा नम्बर ८ मा रहेको हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रालीलाई प्रक्रिया नपुर्‍याई हचुवाको भरमा रकम दिएको भन्दै डा.बलराम थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत डा.पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल र पोलीटेक्निक इन्स्टिच्युट प्रालीका अध्यक्ष लोकबहादुर बोहोरा, व्यवस्थापक सुरतबहादुर भुल र पुष्कर भण्डारीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

आव ०७३–७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयले लागत साझेदारीमा हिल साइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिसँग ७ जेठ ०७४ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले अछामको साँफेबगर नगरपालिका–७ मा १५ जेठ ०७४ सम्ममा पशु हाटबजार निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । काम सम्पन्न गरेपछि अनुदान रकम भुक्तानी लिने सम्झौतामै उल्लेख थियो।

तर, अख्तियारको छानबिनबाट पशु हाटबजार सञ्चालनमा नरहेको, पशु हाटबजार परिसर जग्गाधनी आफैले नियन्त्रणमा लिई व्यक्तिलाई भाडामा दिएको तथा संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केही आइटमहरूको काम नभएको, केही आइटमको कम काम भई बढी मूल्यांकन भएको र केही आइटमको दोहोरो मूल्यांकन भई बढी भुक्तानी भएको पाइएको आरोपपत्रमा उल्लेख छ ।

आयोजनाका नाममा ६३ लाख ४९ हजार ९४३ रुपैयाँ बढी भुक्तानी भएको पाइएको अख्तियारले जनाएको छ। त्यसमध्ये लागत साझेदारीका आधारमा कार्यालयले व्यहोर्नुपर्ने ७० प्रतिशतबापत हुने रकम ४४ लाख ४२ हजार ८६१ रुपैयाँ हिलसाइड पोलिटेक्निकलाई झुटा बिल भरपाईसमेतका आधारमा बढी भुक्तानी गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

बढी भुक्तानी दिने प्रक्रियामा संलग्न निर्देशनालयका तत्कालीन कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईं, पशु विकास अधिकृत पूजा शर्मालगायतविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला पशुसेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिका अध्यक्ष लोकबहादुर बोहरा, कार्यालय व्यवस्थापक सुरतबहादुर भुल, इन्जिनियर पुष्कर भण्डारीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७