बैंकहरू कठिन परिस्थितिमा : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ऋणको ब्याज उठ्न नसक्दा बैंकहरू समस्यामा रहेको बताए । बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको धारणा पनि उनले राखे । राष्ट्र बैंकको नीति भने वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको उनको भनाइ थियो ।
उनले भने, ‘हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौँ । बैंकर साथीहरूले सघाउनु भएको छ । जुनसुकै कठघरामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ । कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको छ ।’ बैंकिङ क्षेत्र झन् चुनौतीमा रहेको र यसका संवेदनशीलता बुझेर चल्न पनि उनले बैंकरहरूलाई आग्रह गरे ।