सूर्यदर्शन सहकारी प्रकरण

रविसहितका प्रतिवादीहरुको बयान सकियो, पोखराका निषेधिक क्षेत्रमा कडाइ


१०:४२ बजे

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीकातर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ । आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि (बिहीबार) मात्र हुनेछ । बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ ।

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन् । लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्र साथ उपस्थित गराइएको छ । विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

यसैबीच सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस सकिएसँगै निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अदालत बाहिर सोमबार र मंगलबार भएको गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको हो ।पोखराको शहीदचोक, जिल्ला अदालत आसपास राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, रत्नचोक, जिल्ला मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालयतर्फ छिर्ने मुखमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

यी ठाउँमा अत्यावश्यक बाहेक सवारीसाधन जान रोक लगाइएको छ भने अदालती वा प्रशासनिक कामका लागि जानेहरूले पनि अनिवार्य काजगाज नदेखाई जान दिइएको छैन । अदालत बाहिर सोमबार र मंगलबार अनपेक्षित गतिविधि भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । त्यस्तै, बहस सकिने बेला नजिकिएपछि झनै भीड जम्मा हुनसक्ने आशंका प्रहरी प्रशासनले गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७