दाउन्नेमा आज पनि यातायात अवरुद्ध
नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज (बिहीबार) पनि सवारी आवागमन अवरुद्ध भएको छ । मंगलबार रातिदेखि अवरुद्ध सडक हिजो दिउँसो केहीबेर एकतर्फी रूपमा सञ्चालन भए पनि शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातिदेखि फेरि अवरुद्ध भएको हो ।
शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरूपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।
रातभरको जामका कारण यात्रुहरू सडकमा बस्न बाध्य भएका छन् । ठाउँ–ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोक्किएका छन् । जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तारमा ढिलो हुँदा यो सडकखण्ड हुँदै यात्रा गर्नेहरूलाई समस्या भएको छ ।
यसैबीच गए राति नारायणढबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९८२ नम्बरको ट्रक हिलोमा चिप्लिएर अनियन्त्रित हुँदा तीनवटा सवारी साधनलाई ठक्कर दिएको छ । उक्त ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।