राजेन्द्र लिङदेनपछि कमल थापा र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आज (शुक्रबार) बिहान भेट भएको छ । भेटमा समसामयिक परिस्थितिका बारेमा विचार विमर्श भएको थियो । भेटमा प्रम ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।
आफूले २०८७ मा संविधान संशोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम ओलीले संसदमा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधनपछि धकेलिन सकिने आफ्नो धारणा रहेको बताएका थिए । सो अवसरमा राप्रपा नेपालका अध्यक्ष थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमा भेटको एक तस्वीर पोस्ट गर्दै लिङ्देनले यसबारे जानकारी दिएका थिए । उनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका छन् । लिङ्देनले भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भएको पनि उल्लेख गरेका छन् ।