रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सुरु
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षबाट बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा चलिरहेको थुनछेक बहसमा आज रविका पक्षबाट पाँच कानुन व्यवसायीले वहस गरेका छन् । उनीहरूले रविको प्रत्यक्ष संलग्नता देखाउने कागजात नभएकाले थुनामा राख्न नमिल्ने तर्क राखेका छन् ।
आज बिहानैदेखि रविका पक्षबाट कानुन व्यवसायीहरूले बहस गरेका छन् । बहस लम्बिँदै गएपछि रविले आफ्ना कानुन व्यवसायीलाई कम बोल्न आग्रह गरेका थिए । रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस सकिएपछि सरकारी वकिलको जवाफी बहस सुरु भएको हो ।
अहिले सरकारी वकिलकाे जवाफी बहस सुरु भएको छ । जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री समेत रहेका लामिछाने गत आइतबार आफै अदालतमा उपस्थित भएका थिए । उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनबारे लामिछानेमाथि भइरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा भएकाले मुद्दा दर्ताको प्रक्रिया नभएको भन्दै भोलिसम्ममा मुद्दा अभियोजनको तयारी भइरहेको रूपन्देहीकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले थाहा संचार नेटवर्कलाई जानकारी दिइन् ।