सिमेन्टमा ७५ प्रतिशत मूल्य बढेको हल्लामा सत्यता छैन : उद्योगमन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नबढेको बताएका छन् । आज (बुधवार) प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषय सत्य नभएको दाबी गरे ।
उनले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बता ए। उनले बाहिर भनिए जस्तो सिमेन्टमा ५०–७५ प्रतिशत मूल्य नबढेको बताए । उनले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरूसँग ४–५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको बताए । उनले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको बताए ।
उनले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिए । उनले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंग्याउने प्रतिबद्धता जनाए । उनले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको समेत बताए ।
उनले भने‚ ‘पछिल्लो पटक असार महिनामा निर्धारण भएको सिमेन्टको मूल्यमा थोरै वृद्धि गर्ने गरी निर्माण व्यवसायीहरूले सहमति जनाएको अवस्था हो । ४०० मूल्यको सिमेन्ट ८०० भएको सत्य होइन । हाल ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म छ । ५०–७५ प्रतिशत मूल्य वृद्धि भएको भन्ने पनि सत्य हैन ।’ मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुंगो लगाउने उल्लेख गरे ।