१९ बुँदे माग राख्दै एलपी ग्यास उद्योग संघले गर्‍यो आन्दोलन घोषणा


२०८१ माघ २४ बिहीबार १७:२८ बजे

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संघका अनुसार ३० माघदेखि एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने भएको छ ।

संघका अनुसार देशभरि ५९ वटा ग्यास उद्योगहरू छन् । यसैगरी १–५ फागुनसम्म सबै ग्यास उद्योगहरूले विरोधका कार्यक्रमबारे प्रचारप्रसार गर्ने, ६ फागुनदेखि भारतको इन्डियन आयल कर्पोरेसनबाट ग्यास लोड नगर्ने, १२ फागुनदेखि भारतबाट लोड भएर आएका ग्यास बुलेटहरू भन्सार नाकाबाट नछुटाउने उल्लेख छ ।

आफूहरूको माग सम्बोधन नभए १८ फागुनदेखि देशभरिका उद्योगहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा संघले गरेको छ । यसैगरी संघले २२ फागुनदेखि देशभरिका ग्यास विक्रेता डिपोहरू बन्द गर्न आह्वान गर्ने जनाएको छ । नेपाल सरकार ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग पनि संघले गरेको छ । एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न  र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागु गरिनुपर्ने माग संघको छ ।

विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग संघको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिव घिमिरेले नेपालमा विस्फोटक ऐन कानुन र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै इजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको गुनासो गरे । नेपाली ढुवानी साधन नहुँदा वार्षिक खर्बौं रुपैयाँ विदेशिएको उनको भनाइ थियो । एकतर्फी ढंगबाट लगानीको संरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रहिरहेमा उद्योग सञ्चालनलाई निरन्तरता दिन नससकिने उनको भनाइ थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७